Thursday 11 July 2013

कैदी आस्थाको

हैन,
आज किन ताल्चा मारेछन् ?
यो च्यानल गेट
किन खोल्दैनन् ?
त्यो भुस्याहा कुकुर
कुरिरहेछ खान प्रसाद ,
अनि कुरिरहेछु म
त्यसको जिब्रोको न्यानो स्पर्श ।

ती साना नानीहरु
आज किन लुकामारी खेल्दैनन् ?
किन आउँदैनन्
पैसा बटुल्न ?
पर्खिबसेकोछु म
तिनीहरुको पवित्र प्रेम
र आशरहित श्रद्धा ।

यो सानो छुचुन्द्रो चाहिं
मसँगै बसेको छ ,
घरिघरि मलाई काउकुती लगाउँदैछ
र प्रफुल्ल भई चारैतिर दगुर्दैछ ,
मख्ख छ आज ऊ
मसँग एक्लै दिन बिताउन पाएकोमा ।

संधै उकुसमुकुस गराउने अबिर
अनुहारै ढाक्ने टीका
अनि मेरा वरिपरि छरिएर,
मलाई मेरै कोठामा पराई भान गराउने
ती पुष्प गुच्छाहरु
आज सबै गायब छन् ।

मलाई पोलिरहने दियोका बत्ती
निसास्सिने गरी
धुँवाको मुस्लो फ्याक्ने
ती धूपका झुप्पा
अनि मेरा कान फुटुञ्जेल
बज्ने घण्टहरु 
आज सबै निश्तब्ध छन् ।

लामबद्ध ओइरिने
मेरा कथित भक्तजनहरु
आज सब सत्याग्रहमा बसेकाछन्
मेरो अमूक दर्शक भई बस्ने बानीबिरुद्ध
आज सब आन्दोलित छन्
अनि मलाई कैदी बनाई आस्थाको
आज नेपाल बन्द गरेकाछन् ।
  
(१७ अषाढ २०७०, सुर्खेत)
Republished from http://kchhakhabar.com 

No comments: