Thursday 3 July 2014

शेक्सपियरको नगरीमा एक दिन

“४५० वर्षे तन्नेरी शेक्सपियर” — यो सन्देश बोकेको तुल शहरको मध्य भागमा गर्वकासाथ फहराउँदै थियो । सन् १५६३ मा यहीं स्ट्र्याटफोर्ड अपन एभनमा शेक्सपियरको जन्म भएको थियो ।

शेक्सपियरको शालिक

सफा सडक, हिड्नयोग्य पेटी, हराभरा घरहरु, स्वच्छ वातावरण अनि कलकल बग्दै एभन नदी । लण्डनको भीड र मानवसागर छिचोलेपछिको प्राकृतिक वातावरण निकै नै मनोरम थियो । 

चारैतिर पर्यटकको भीड देखिन्थ्यो । एभनमा पौडिरहेका हाँस र राजहाँस त्यसैगरी शेक्सपियरकै पालादेखि पौडिआएका होलान् भन्ने भान हुन्थ्यो । बीचबीचमा डुंगा खियाउँदै नदीको मध्यभागबाट जोडकासाथ हुत्तिदै गरेका टोलीहरु देखी हाँसहरु तर्सिन्थे अनि किनारा लाग्थे ।

नदीको किनारमा आफ्ना प्रियजनका सम्झनामा बेञ्च राखिदिने चलन रहेछ त्यहाँ । त्यही बेञ्चमा युवा जोडी प्रेमालाप गरिरहेका भेटिन्थे । कतै कतै अधबैंसे तथा बृद्धबृद्धा पनि आफ्ना कथा व्यथा साटासाट गरिरहेका भेटिन्थे ।


जोकरको मूर्ति


शेक्सपियर जन्मेको घर पुग्नुअघि जोकरको मुर्ति रहेछ । त्यसको फेदमा कुंदिएको भनाइ चाखलाग्दो रहेछ । “हे कुलीन मूर्ख, योग्य मूर्ख — मूर्खले आफूलाई विद्वान ठान्दछ तर विद्वानले आफू मूर्ख भएको जान्दछ ।” — शेक्सपियरको नाटक एज यू लाइक इटका जोकर टचस्टोनको भनाइ हो यो ।   

शेक्सपियरको जन्मघर

शेक्सपियर जन्मेको घर साधारण छ तर अहिलेसम्म जस्ताको त्यस्तै जोगाएर राखिएको छ । धन्य शेक्सपियर बर्थप्लेस ट्रष्ट, अहिले पनि त्यस घरमा मान्छे बस्छन् जस्तो लाग्छ ।

शेक्सपियरको जन्म भएको कोठा

शेक्सपियरका बाबु पञ्जा बनाउँदा रहेछन् । त्यही व्यापार बढाउँदै लगेर उनी धनाढ्य र समाजमा प्रतिष्ठित भएका रहेछन् । साधारण बनोटको त्यही घरमा शेक्सपियरको बालापन बित्यो र उनी संसारकै सर्वोत्कृष्ट साहित्यकारमा गनिनपुगे । अझ नाटकमा त उनलाई शायदै कसैले भेट्लान् ।

ओल्ड बैंक
शेक्सपियरको मोजाइक

उनी जन्मिएको घरबाट उनका नाटक मञ्चन हुने थिएटर जाँदा बीचमा ओल्ड बैंक भेटिन्छ । सन् १८१० मा स्थापित उक्त बैंकको प्रवेशद्वारमा शेक्सपियरको मोजाइक कुँदिएको छ । हुन त त्यहाँका प्रत्येक कुनाकाप्चामा उनको उपस्थिति रहेको छ तर हाल एचएसबिसि बैंक रहेको उक्त ठाउँ साल्भियाटिद्वारा बनाइएको शेक्सपियरको मोजाइकका लागि प्रख्यात छ । उक्त डिजाइन होली ट्रिनिटि चर्चमा रहेको शेक्सपियरको समाधि स्मारकसँग सम्बन्धित छ र त्यसैमा आधारित रहेको छ ।  

न्याशको घरमा अवस्थित म्यूजियम
न्याशको घर
न्यू प्लेसको बगैंचा

ओल्ड बैंकबाट अलिक हिडेपछि बाटोमा उनका नाता पर्ने न्याशको घर पर्दछ । न्याश उनका नातिनी ज्वाँइ थिए । त्यसको पल्लोपट्टि शेक्सपियरले आफ्ना अन्तिम दिन बिताएको घर थियो जुन अहिले छैन । घरको भग्नावशेषसँगै बगैंचा चाहिं घुम्नसकिन्छ । त्यसबेला न्यू प्लेस नामक उक्त घर स्ट्र्याटफोर्डकै दोश्रो ठूलो घर थियो । शेक्सपियर लण्डनबाट घोडा चढेर चार दिनमा स्ट्र्याटफोर्ड आईपुग्थे रे ।

थिएटर
थिएटर

न्याशको घर भन्दा अलिक पर रोयल शेक्सपियर कम्पनीद्वारा सञ्चालित थिएटर छ जुन चाहिं साच्चिकै भव्य छ । कति कलाकार हलिउड र अरु सिनेनगरीमा प्रवेश पाउन त्यहाँ नाटक खेल्छन्, प्रशिक्षित हुन्छन् । तर धेरै कम कलाकारले हलिउडमा ब्रेक पाएका रहेछन् । जसमध्ये एन्थनी हप्किन्स् र बण्ड सिरिजकी मनीपेनीले नाम र दाम दुवै कमाएका छन् । शेक्सपियर र उनका व्यवसायी साथीहरुले चाहिं त्यसबेला थेम्स नदीको दक्षिण किनारमा ग्लोब नामक थिएटर सञ्चालन गरेका थिए । 

थिएटरको ग्राउण्ड फ्लोरमा रोयल शेक्सपियर कम्पनीको  कोसेली पसल छ । त्यहाँ शेक्सपियरसँग सम्बन्धित कोसेलीहरु खरीद गर्न पाइन्छ । किताब, टि शर्ट, माला, कप, टाई जे खोज्नुस् , पाउनुहुन्छ । शेक्सपियरको अमिट छाप सहित ।

कलाकारका ड्रेस

त्यस पसलनिरै ड्रेसिङ्ग बक्स छ । त्यहाँ निःशुल्क शेक्सपियरका पात्रहरुले लगाउने लुगा, खुडा, तरबार र शीरपोष लगाएर फोटो खिच्न सकिन्छ ।

टावरबाट देखिने मनोरम दृश्य
रेस्त्रांबाट देखिने मनोरम दृश्य

थिएटरमै अवस्थित टावरमा चढी सम्पूर्ण शहरको मनमोहक दृश्यको रसास्वादान गर्न सकिन्छ । साथै टावरसँगै जोडिएको रेस्त्रांमा खाना खाँदै वरिपरिका ठाउँ पनि अवलोकन गर्न सकिन्छ ।    

होली ट्रिनिटि चर्च

थिएटरबाट नदीको किनारैकिनार हिंड्दा होली ट्रिनिटि चर्च पुगिन्छ जहाँ शेक्सपियरको समाधि रहेको छ । उनले यसै चर्चमा बप्तिस्मा प्राप्त गरेका थिए र त्यही उनलाई समाधिस्थ गरियो ।

लण्डनबाट स्ट्र्याटफोर्ड अपन एभन निकै टाढा छ र अफ पिक डेज अर्थात भीडभाड नहुने दिन बाहेक अरु दिन ट्रेन भाडा अचाक्ली महंगो भए पनि जानै पर्ने ठाउँ रहेछ । अझ साहित्यमा रुचि राख्नेका लागि त मक्का मदिना गए सरह हुन्छ त्यहाँ पुग्दाको क्षण । अनि ४५० वर्ष अघि जन्मिएका शेक्सपियरले आफ्ना पदचाप छोडेका ईंट्टा ईंट्टामा टेक्दा आफैभित्र शेक्सपियरको सिर्जनात्मकता समाहित भएझै लाग्दछ ।

No comments: