Wednesday 16 July 2014

सार्वजनिक यातायात, महिला सीट र जागरुकता

दिल्लीको गर्मी अनि कहालीलाग्दो ट्राफिक । बस कुर्दा कुर्दा दिक्क लागिसकेको थियो । मेरो साथी अमोद र म हमदर्दनगर स्टपमा डिटिसी (दिल्ली ट्रान्सपोर्ट कर्पोरेशन) को बस कहिले आउला र चढौला भनी बसेका थियौ । त्यही बसमा चढ्नुको उद्देश्य चाही बल्ल बल्ल बनाएको स्टुडेन्ट पासको सदुपयोग गर्नु थियो । त्यो पास बनाएको दिन त ऊ र म दिनभर सित्तैमा सम्पूर्ण दिल्ली घुमेका थियौ र लखतरान भएर निकै अबेर होस्टेल पुगेका थियौ ।

बल्ल एउटा सिपि (कनट प्लेस) जाने बस आईपुग्यो र हामी दुई भाइ लाग्यौ आफ्नो गन्तव्यतर्फ । बस लगभग भरिएको थियो तर महिलाका लागि आरक्षित दुई सीट चाहि खाली थियो । आरक्षित सीटमा नबसी हामी उभिइरहेको देखेर एक महिलाले भनिन्, “खडे क्यू हो ? बैठ जाओ, कोइ आए तो खाली कर देना ।”

कुरो ठिकै लाग्यो र हामी दुवै जनाले ती सीट कब्जा गर्यौ । अर्को स्टपमा दुई कलेजका छात्रा चढे । उनीहरुलाई देख्नासाथ हामी सीटबाट उठ्यौ । उनीहरु चाहि गमक्क पर्दै हामीलाई बसिरहन आग्रह गरे । अलिक टाठी चाहिले भनिहालिन , “देखिए, हम तो महिला पुरुष दोनो बराबर समझते है । कोइ और आए तो सीट खाली करदिजिएगा, फिलहाल आप बैठे रहो ।”

कस्ती उदार रहिछन् भन्दै हामी त्यही बसी रह्यौ ।

त्यो स्टप कट्नासाथ अर्को स्टपमा केही अधबैंसे महिला चढे । उनीहरुलाई देख्नासाथ हामी उठ्नमात्र के लागेका थियौ, एउटीले बसै थर्काउने गरी सराप्न थालिन्, “तुम्हारे घरमे मां बहन नही हैं क्या ? बेशरम की तरह बैठे हो और मासूम लडकियो को खडे रखे हो ?”

हाम्रो पक्षमा कोहि बोलिदेलान् भनेको त अघि हामीलाई बराबरीको पाठ पढाउने ती दुई बाला पनि खित्खित् हाँस्दै थिए । अरु सब चाहि हामीतिर टुलुटुलु हेर्दै थिए । मानौ हामी भरखर तिहाड जेलबाट भागेर आएका कैदी हौं । हामी दुवैको अनुहार हेर्न लायकको भएको थियो । लाजले राताराता ।

अलिक सफाइ दिन खोजेका मात्र के थियौ, फेरि बज्रपात भयो गालीको, “ नालायको, तुम जैसे लडको को तो सबक सिखाना ही चाहिए, क्यो बहनो ?” 

अब चाहि सबजना मिलेर हामीलाई भकुर्छन् जस्तो लाग्यो । तर एउटा बुढाले हाम्रो बचाउ गरे । “थ्यांक यू अंकलजी,” भित्रैदेखि भावविह्वल हुँदै भने मैले ।

अर्को स्टप आउनासाथ हामी बसबाट सुटुक्क झर्यौ र जिन्दगी भरि महिला सीटमा नबस्ने कसम खायौं ।


*****               *****               *****             
अहिले पनि जुनसुकै सार्वजनिक यातायातमा सवारी गर्दा ती महिला सम्झेर मेरो सातो जान्छ । तर नेपाली महिला सम्झेर टिठ लागेर आउँछ । पुरुषहरु चाहि महिलाका लागि आरक्षित सीटमा गमक्क परेर बसेका हुन्छन् र सीट छोड्ने नामनै लिदैंनन् ।

त्यसबेला ती दिल्लीवाली महिला झलझली याद आउछिन् । यहाँका महिला कहिले आफ्ना हकका लागि कुर्लने हुन् कुन्नि ?

एक पटक चाहिं साच्चिकै क्रान्तिकारी पुरुष भेटे । नेपाल यातायात सधैंझै भरिएको थियो र महिला सीट पुरुषहरुले ओगटेका थिए । महिलाहरु चाहि सकीनसकी झुन्डिएका थिए, पुरुषहरुको पेलमपेल भींडमा । ती भलाद्मीले आरक्षित सीटतर्फ औंल्याउँदै महिलाहरुलाई उक्साए, “हैन साथीहरु महिला सीटमा त कम्तिमा नबसिदिनोस्, ल दिदीहरु आफूले पाएको अधिकारको उपभोग त गर्नुस् ।”

उनको पहल नै धेरै थियो । अघिसम्म थुचुक्क बसेका सज्जनहरुले एक एक गरी सीट खालि गरिदिए र महिला दिदीबहिनीहरु आरामले बसे । आफूलाई नि भित्रैदेखि रमाइलो लाग्यो । बानेश्वरमा झर्ने बेला तिनी नजिक गए, हात मिलाए र भने, “तपाईंको पहलको लागि धन्यवाद, सबैले तपाईंले झै आवाज उठाए मात्र हाम्रो मति फेरिन्छ ।”

उनी मन्दमन्द मुस्काउँदै थिए भने वरपरका यात्रुहरु हामीलाई वाल्ल परी हेर्दैथिए ।

*****               *****               *****              
आरक्षणको कुरा गर्दा सबैजसो सार्वजनिक यातायातमा महिला, असक्त, अपांग भनी लेखिएको हुन्छ सीटहरुमाथि । विकासकर्मी भएको नाताले मलाई महिला, ज्येष्ठ नागरिक र सहायतायोग्य मात्र लेखिदिए हुन्थ्यो झै लाग्दछ । त्यसो गर्दा अपांगता र असक्तता लिएर बाँचिरहेका साथीहरुको मन त कुँडिने थिएन होला शायद ।

समयले र सिकाइले गर्दा होला, आजकल धेरैजसो माइक्रोका सहयोगीहरुले चढ्नेबेला नै महिला सीटमा नबस्नुहोला भनिदिन्छन् । धन्यवाद छ ती चालक , सहयोगी , संवेदनशील पुरुष तथा जागरुक महिला यात्रीलाई जसले आरक्षित सीटको महत्व बुझेकाछन् र परीआएको बेला अधिकार दिलाउन र लिन जानेकाछन् ।

अस्ति भर्खरै नेपाल यातायातमा एउटी दिदी भन्दैथिइन , “ल सर, महिला सीट चाहि छाडिदिनुपर्यो है, यो त हाम्रो अधिकार हो ।”

ती दिदीको जागरुकता देखेर साह्रै खुशी लाग्यो । धन्न उनी ती दिल्लीवाली महिलाझै चर्को स्वभावकी थिइनन् ।
मलाई सबै महिला ती दिदीझै भएको र अन्य देशमाझै पुरुषले स्वतस्फुर्त महिलालाई प्राथमिकता दिएको हेर्न मन छ । शायद चाडै नै त्यो दिन आउँला । आशा गरौ ।

No comments: