Sunday 12 April 2015

प्यारालाइसिस अफ एनालाइसिस

चन्द्रभोगाको ठाडो उकालो
चैत वैशाखको चर्को घाम
त्यसमाथि डढेलोले सखाप पारेको जंगल
अनि सुकेको आँत ,
पानीको थोपा र पातका ओस
त कहाँ पाउनु
पात पनि विरलै देखिन्थे
गोटा एक रुखमा ,
आफूलाई चाहि चढ्नु थियो
नाक ठाडो भीर ।

किंग रोबर्टको माकुरा झै
लतारिए,
पछारिए,
अनि फेरि चढे
तर कुन्नि हो किन
सातौ पल्टको प्रयाशमा
थलिए ।
अनि उचाइ अनुमान गर्न थाले
जीउमा पानीको मात्रा अड्कल्न थाले ,
कता कता,
आफ्नो मनोबल
स्वात्त घटेको महशुस भयो
र धिक्कारे आफ्नो अधबैंसलाई ।

किमार्थ आट्ने थिइन
नव वर्ष नहुँदो हो त ,
न्यू इयर रिजोल्यूशन जो थियो
साहसिक कार्यबाट दिन थाल्ने ।
चुचुरो पुग्न मात्र दश मिनेट हुँदो हो
तर एक एक मिनेट पनि
घण्टौ लाग्न थाल्यो ,
एनालाइसिस गर्दा गर्दा
प्यारालाइसिस भएझै लाग्यो एनालाइसिसको ।

अनि ओर्लिए
चुचुराको भेदैबाट,
आफ्ना विजीगिषालाई
अनन्त आराम दिलाएर ।

ठिक त्यसको एक वर्ष पश्चात् ,
किंग रोबर्ट ब्राण्डको मदिराको मातमा
फेरि एकपल्ट शुरु भयो
लहड एनालाइसिसको ,
यसपालि चाहि
प्यारालाइज्ड भइसकेको सुसुप्त चाहना
फेरि जुर्मुरायो
चन्द्रभोगाको त्यो ठाडो उकालो चढ्न ।