Friday, 5 August 2016

कला र प्रतिबद्धता

कोइलीको कंठ सुरिलो थियो, उसलाई स्वरहरूको ज्ञान थियो र रागहरूको अलि अलि ज्ञान थियो। उनले संगीतमा नै आफ्नो करियर बनाउने निश्चय गरिन्।

कोइलीले अप्लाइ (आवेदन दिइन्) गरिन्। अर्को दिन नै उनलाई अडिशनका लागि बोलाइयो। त्यो इमर्जेन्सीको बेला थियो र सरकारी कामकाजको गति तीब्र भएको थियो।

कोइली आकाशवाणी (भारतीय रेडियो) पुगिन्। स्वर परिक्षाका लागि त्यहाँ तीन गिद्धहरू बसिरहेका थिए।

"के गाँउ," कोइलीले सोधिन्।

गिद्धहरूले हाँस्दै भने, "यो पनि सोध्नुपर्ने कुरा हो र। बीस सूत्रीय कार्यक्रममा लोकगीत सुनाउ। हामीलाई त्यही मात्र सुन्न सुनाउने आदेश छ।"

"बीस सूत्रीय कार्यक्रममा लोकगीत? त्यो त मलाई आउँदैन। तपाईं भजन वा गजल सुन्न सक्नुहुन्छ," कोइलीले भनिन्।

गिद्धहरू फेरि हाँसे। "गजल वा भजन? बीस सूत्रीय कार्यक्रममा छ भने अवश्य सुनाउनुस्।"

"बीस सूत्रीय कार्यक्रममा त छैन," कोइलीले भनिन्।

"त्यसो भए क्षमा गर्नुस्, कोकिलाजी। हामीसँग तपाईंका लागि कुनै स्थान छैन," गिद्धहरूले भने।

कोइली फर्केर आइन्। फर्किदा उनले म्युजिक रूममा (संगीत कक्षमा) कागहरूको टोलीले बीस सूत्रीय कार्यक्रममा  कोरस रेकर्ड गर्दै गरेको देखिन्।

त्यसपछि कोइलीले संगीतमा आफ्नो करियर बनाउने सोंच त्यागिदिइन् र विवाह गरेर आफ्नो घरतर्फ लागिन्।
 
सत्याग्रहमा प्रकाशित शरद जोशीको लघु कथाको नेपाली अनुवाद