Wednesday, 13 June 2012

काञ्छा मेरो नाम

At Garhisar lake (c) Tashi Tsering
हावाको सिरेटोले रेलको ढोकामा उभिएको मेरो भुटानी साथी टाशीको लामो कपाल फुर्रफुर्र उडाए पनि आफ्नो क्यामेरामा पोखरणको दृश्य कैद गर्न व्यस्त थियो ऊ । म चाहिं भारतले आणविक परिक्षण गरेको ठाउँ रेलवे लिकभन्दा कति पर होला भनी सोचमग्न थिए । हामी दूवै जाडोको छुट्टीको सही सदुपयोग गर्न जैसलमेरतर्फ हानिएका थियौं । दूवैको मंगोलियन बनौट भएकोले र अन्तर्मुखी स्वभावले गरेर होला ट्रेनभित्रका यात्रीसँग खासै घुलमिल गर्न सकेका थिएनौ हामी दूवैले । तैपनि एकजना बिहारीसँग राम्रो मित्रता भईसकेको थियो हाम्रो । ऊ पहिला धेरै पटक जैसलमेर पुगिसकेको हुनाले र त्यहाँको कलेक्टर उसको नातेदार भएकोले त्यहाँ बस्न केही गाह्रो भएको खण्डमा हामीलाई सघाउने बाचा गऱ्यो उसले ।

रेल्वे स्टेशनबाट होटेल भएको ठाउँतर्फ जाँदा बीचैमा केही सैनिक जवान भेटिए । हामीलाई देख्नासाथ — “ बिएसएफ मे भर्ने आए हो क्या ?” भनी सोधिहाले । नजिकै भर्ना शिविर रहेछ र हरेक वर्ष कैंयन नेपाली आफ्नो भाग्य आजमाउन आउँदारहेछन् त्यहाँ । हाम्रो कसिएको जीउ देखेर उनीहरुले त्यसो सोचेकारहेछन् , होइन भन्दा पनि पत्याएनन् उनीहरुले ।  

अलि झिस्मिस भईसकेको थियो हामी जैसलमेरको हनुमान चौराहा पुग्दा । होटेलमा कोठा खोज्दा खोज्दै अंध्यारो भईसकेको थियो र नौलो ठाउँमा बास नपाउँदा मन खिन्न भयो । त्यहाँ त टूरिष्ट सिजनमा कोठा पाउँन हम्मे हम्मे पर्दो रहेछ । त्यसपछि बल्ल रेलमा भेटेको बिहारी मित्रको याद आयो र उसलाई भेट्न कलेक्टरको रेजिडेन्सतर्फ लाग्यौं । उसलाई तुरुन्तै भेट्यौं र उसले फोनमा केहि बेर कुरा गरिसकेपछि हाम्रो हातमा एउटा पर्चा थमाईदियो होटेलको नाम र ठेगाना लेखेर । अत्तालिंदै लेखिएको ठेगानामा पुग्दा त्यस बिहारीलाई भरमग्दूर गाली गर्न मन लाग्यो किनभने त्यस ठाउँको होटेल म्यानेजरले हामीलाई “नो रुम” को साइन देखाइसकेको थियो । तैपनि सिफारिसले गर्दा कोठा दिईहाल्ला कि भनी सोधेको त — “पहले क्यों नही बताया के आप लोग कलेक्टरसा’ब के आदमी हों मुझे बिना मतलब की डांट पडी” भन्दै रुन्चे अनुहार बनायो त्यस म्यानेजरले । मरन्च्यासे बिहारी मित्रले नराम्रै धमास दिएका रहेछन् उसलाई । त्यसपछि त तुरुन्तै सबभन्दा राम्रो रुम पायौं ।   

कोठामा छिर्न नपाउँदै — “ सर, आप एक मिनट के लिए नीचे आएंगे प्लीज” भन्दै मलाई फेरि रिसेप्सनको कुनातिर तानेर लग्यो उसले ।
“दाइ त नेपाली पो हुनुहुँदो रहेछ त्यसैले तपाईंलाई चेताउनु मेरो कर्तव्य ठानेर बोलाएको ।”
“तपाईंलाई यस अन्जान ठाउँमा भेटेर साह्रै खुशी लाग्यो तर किन चेताउन खोज्नुभा’को मलाई ?” मैले सोधिहाले ।
“तपाईंसँगको साथी त भुटानी रहेछ नी, म पनि तिनीहरुले खेदेको नेपाली हुँ । हामीलाई त निकै दु:ख दिई निकाले, तपाईंलाई फेरि राति केहीं गर्यो भने ?”
“केही हुन्न, धन्दा नमान्नुस् , ऊ मेरो मिल्ने साथी हो ।”

उसलाई एउटा नेपालीले नेपालीको लागि देखाएको सह्दयताप्रति धन्यवाद दिई आफ्नो कोठातर्फ लागे । एकछिनपछि हामी दूवै होटेलको छतबाट बत्तीको उज्यालोमा चुर्लुम्म डुबेको जैसल फोर्टको सुन्दर दृश्य क्यामेरामा उतार्न थाल्यौं । पूरै किल्ला सुनौलो ढुंगाले बनेकोले यसलाई बंगालीमा सोनार किल्ला पनि भन्दारहेछन् । जैसलमेर शहर खडा गर्ने राजा जैसलले बनाएको यस भव्य किल्लाभित्र एउटा पूरै शहर अटेको छ । टन्नै राम्रा राम्रा फोटाहरु खिंचिसकेपछि रातिको खाना खान बाहिर निस्केका मात्र के थियौं एउटा पुलिसको जीप हाम्रो अगाडि टक्क अडियो र सोधपुछ शुरु भईहाल्यो । पाकिस्तानसँगको बोर्डर नजिकको शहर भएर होला सुरक्षा व्यवस्था एकदम दुरुस्त रहेछ त्यँहा । कुनै नयाँ व्यक्ति देख्नासाथ सोधपुछ गर्न थालिहाल्दारहेछन् त्यँहाका प्रहरी ।

बिहान सबेरै उठेर चिया चमेनाको खोजमा नजिकैको लामबद्ध टहरातर्फ के लागेका थियौं एउटा चिया पसलबाट सुमधुर नेपाली गीत गुञ्जियो — “ यो गाउँको ठिटो म, काञ्छा मेरो नाम, आउँदै जाँदै गर्नु है, सबलाई राम राम” । गीत गाउने तराईमूलका नेपाली रहेछन् र हामीलाई देखेर खुशी हुंदै त्यो गीत गाएर आफ्नो पसलमा आउने निम्तो दिंदै थिए । उनको पसलमा चिया खांदै गफिंदामात्र उनको सदाबहार मुस्कानपछाडिको दु:ख थाहा पाइयो । बुटवलबाट जैसलमेरसम्मको उनको यात्रा त्यति सहज रहेनछ, अनेकन हण्डर खाईसकेर खारिएका रहेछन् उनी । धेरै दिनपश्चात् नेपाली भेटेकाले पैसै लिन मानेन् , पैसाको काउन्टरमा बसेको भुसतिघ्रे मालिक पनि आफ्नो कारिन्दाको कोही चिनजानका होलान् भनी हामीतर्फ हेरी ङिच्च हाँस्यो ।

चिया खाई निस्किसकेपछि गढिसर तालतर्फ लाग्यौ एक बंगाली परिवारकासाथ नेपाली होटेल म्यानेजरले मिलाइदिएको गाडीमा । त्यो मिलनसार परिवारसँगै सोनार किल्ला र पहिले मन्त्री, भाइभारदार बस्ने पट्वो की हवेली पनि घुम्यौं । लगभग सबै घर सुनौलो ढुंगाले बनेकाले यस शहरलाई “ गोल्डेन सिटी” पनि भन्दारहेछन् । सुनौलो सिटीको सुनौलो सम्झना लिई फर्कनु अघि काञ्छा मेरो नाम गाउने साथीलाई भेट्न गयौ । उनको हातको मीठो चिया पिएर बिदा लिंदा, हामीतर्फ हात हल्लाउँदै मुस्काउँदै थिए उनी तर उनका आँखा भने रसाएका थिए ।  

2 comments:

Gaurav said...

Hi Sanjib,

This looks like a good read.. only if you could post the translation for the non-nepalis it would be much appreciated.

Sanjib said...

Thanks Gaurav, will post the English version soon, keep tracking the posts.