एस टी कोलरीज शायद शुक्लाफाँटा आएका भए आफ्नो कालजयी कविता यसरी शुरु गर्थे होला “घासै घास सर्वत्र घास, ....”। उनी त्यही कवि हुन् जसले वाटर वाटर एभ्री ह्वेयर नर एनी ड्रप टु ड्रिंक भन्दै समुद्रको वर्णन गर्दै कविता कोरेका थिए । शुक्लाफाँटा एशियाकै सबभन्दा ठूलो खुल्ला घासे मैदान हो र यहाँ विचरण गर्ने बाह्रसिंगा चाहिं संसारकै ठुलो झुण्ड हो । यहाँ पुग्दा हरियो समुद्रमा पुगेको भान हुन्छ ।
सर्वप्रथम यहाँ पुग्दा मलाई एनिमल प्लानेटमा देखाउने अफ्रिकाको घासे मैदानमा पुगे झएको थियो । अनि एक्कासी पन्ध्रशय भन्दा बढि बाह्रसिंगा देख्दा त कतै सपनामा त छुइन भनी आपैmलाई चिमोट्न मन लाग्यो । घास सुकेर नयाँ टुसा पलाउने बेला यहाँको दृश्यको वर्णन गरेर साध्य हुदैन । चारैतिर खुल्ला चौर अनि यत्र तत्र बुर्कुसी मार्दै उफ्रिरहेका बाह्रसिंगा ।
म तीन पटक फरक फरक समयमा यहाँ पुगेको छु तर हरेक पटक केहि नयाँ अनुभव संगाल्दै फर्केको छु । काठमाडौंबाट धनगढीको यात्रा छिचोलेपछि, लगभग तीन घण्टामा महेन्द्रनगर पुगिन्छ, अनि फेरि केहि बेरको शहरभित्रको कोलाहलपुर्ण यात्रापछि प्रकृतिको काखमा पुगिन्छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र पैदल शयर गर्न पनि सकिन्छ तर समयमा खुल्ला घासे मैदान पुग्न र बाह्रसिंगाको झुण्ड हेर्न जीप लिएर गएको बेस हुन्छ ।
आरक्षभित्र ओहोर दोहोर गर्न र गस्तीका लागि जीप हिड्ने बाटो बनाइएको छ । यस बाटोबाट आरक्षको भित्री भाग जाँदा बाटोमा अन्गिन्ती मयूर, चित्तल भेट्टिन्छन् । यदि अलिक झिस्मिसेमै हिंडियो भने चितुवा र दैवले जुराए बाघनै भेट्न बेर लाग्दैन । त्यसैले आरक्ष छिर्नासाथ आफ्ना आँखा र कान चुस्त राख्नुपर्छ ।
आरक्षभित्र कैंयन अग्ला वाच टावर छन् जहाँबाट आफ्ना आँखाले भ्याएसम्म हरियाली र प्रकृतिको सुन्दरताको रसास्वादान गर्न सकिन्छ । बीचबीचमा रहेका तालहरुमा गोहि र अरु जलचर हेर्न सकिन्छ । आरक्षभित्र रहेको रानी ताल र यस वरपरको दृश्य अति रमणीय छ ।
पहिला दुई पटकको यात्रा मेरालागि अति रोमांचक रह्यो भने अन्तिम पटकको यात्रा केहि खल्लो रह्यो । आरक्ष अवलोकन गरी फर्कदा कार्यालय परिसरमा होहल्लाको वातावरण थियो । तत्कालीन वार्डेन जगन्नाथ सिंहलाई भेट्दा भर्खरै केहि भारतीय चोर शिकारी समातिएको खबर पाए । वार्डेन र अरु अधिकारीसँग अनुरोध गर्दा चोर शिकारीबाट बरामद गरिएका बाघ र चितुवाका आलो छाला हेर्ने (कु) साइत जु¥यो । एकैपटक पन्ध्रभन्दा बढि छाला देख्दा आङ जिरिङ्ग भयो र हिरासतमा रहेका शिकारीलाई सोभैm गएर भकुर्न मन लाग्यो । यसो सोचे यसरी नै यी निरीह प्राणीको चोरी शिकार गरिने हो भने त भविष्यमा हाम्रा सन्तानले त खाली कागजका पानामा मात्र यी प्राणीहरुको दर्शन पाउनेछन् ।
No comments:
Post a Comment