Saturday, 18 January 2014

ग्लँकी दयालु बुढी, रोमको ठग्ने बुढो

घ्याच्च ब्रेक लाग्यो । जेब्रा क्रसिङ्गनेर गएर उभिएका मात्रै के थियौ, गाडीहरुको त ताँती लागिसकेछ हाम्रा अगाडि । सिमसिम पानी परिरहेको थियो र चिसो हावाले मुटु कमाइरहेको थियो । यतिकैमा एउटी बुढीआमा दौडेर हामीनेर आईन र तत्काल बाटो काट्न आग्रह गरिन । हामीले तिनले भनेझै सुटुक्क सडक पार गर्यौ ।

पारिपट्टि पुग्नासाथ शुरु भइहाल्यो मोटरहरुको कोलाहल । मात्र दुई मिनेट के रोकिएका थिए, गाउँ भनिने ग्लँमा त छिमेकी शहर जिनेभाझै ट्राफिक जाम पो भएछ । र त्यो पनि हामी दुई नेपालीका कारण ।

पछि निलो रङ्गको वर्षाती लगाएकी ती बुढीआमैले भनिन् , “यहाँ, ट्राफिक बत्ती नभएको जेब्रा क्रसिङ्गमा बाटो काट्ने पहिलो अधिकार पदयात्रीको हुन्छ ।” त्यसैले ती सारा गाडी चालक हामीले बाटो काट्लान भनी पर्खीबसेका रहेछन् । मेरो साथी सुमन र मेरालागि नौलो सिकाइ थियो त्यो ।

******             ******                  ******                       ******

पहिलो पटक स्वीट्जरल्याण्ड पुगेका हामी दुईलाई झिसमिस हुनथालेपछि दालभातको यादले सताउन थाल्यो । मेरो साथीलाई थप अर्को समस्याले पिरोलिरहेको थियो । शुद्ध शाकाहारी भएकाले जताततै बग्रेल्ती मासु मासु मात्र देख्दा कम हैरान थिएनन् उनी । भात र शाकाहारी खाना खोज्दा खोज्दै हामीले त जिनेभा तालको एउटा सम्पूर्ण खण्ड नै पार गरिसकेछौ ।

हामी जिनेभा भन्दा ट्रेनले १८ मिनेटमा ल्याइपुर्याउने नियोन भन्ने सानो शहरमा बसेका थियौ र ताल छेउका लगभग सबै रेश्त्राँ चाहारिसकेका थियौं । अन्त्यमा सम्झौता गर्नै पर्ने भयो । एउटा चाइनिज रेश्त्राँमा छिरेर भेज फ्राइड राइस र मशरुम करी अर्डर गरे मेरा मित्रले । म चाहिं चिकेन चाउमिनमै रमाए । साथमा एक क्यान बियर नि घुट्क्याए । मेरो साथीले एक बोतल पानी मगाए, मैले चाहिं धाराकै पानी पिउने निधो गरे । मेरो बुबा स्वीट्जरल्याण्डमै पढ्नुभएकोले धाराकै पानी खाने सल्लाह पाएको थिए ।

खाना खाँदासम्म त साह्रै मज्जा भो तर पैसा तिर्दा भने दाँतबाट पसिना तरतर चुहियो । भेज खानाको मात्र मेरो साथीले २६ यूरो चुत्ता गर्नुपर्यो साथै पानीको ५ यूरो थप । म चाहिं सस्तोमै उम्किए । बियरको पनि ३ यूरो मात्र तिर्नुपरेपछि पानी किन पिएछु भनेर पछुताए मेरा मित्र ।

******             ******                  ******                       ******

स्वीट्जरल्याण्ड गएको वर्ष दिनमै इटलीको रोम जाने मौका जुर्यो। स्कूल पढ्दादेखिन नै रोम जाने मेरो धोको पूरा भएकोमा म गद्गद् थिए । फूटबलको डाइहार्ड फ्यान भएकोले पहिला लाजियोको  प्रमुख कार्यालय पुगे । त्यसको अघिल्तिरै तत्कालिन प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको कार्यालय रहेछ । अचम्मको कुरो त के रहेछ भने त्यत्रो शक्तिशाली राष्ट्रका प्रमुखको कार्यालय कुर्ने नाममात्रका सिपाही रहेछन् । हाम्रो त सिंहदरबार अगाडि पनि फौज नै तैनाथ रहन्छ ।

******             ******                  ******                       ******

त्यहाँको ट्रेभी फाउन्टेनका बारेमा पनि धेरै सुनेकाले बाटो सोधी सोधी पुगे । अनि फाउन्टेनतिर ढाड फर्काएर दाहिने हातले देब्रे काँधमाथिबाट १ यूरोको ढ्याक पानीतर्फ हुर्याए । आफूलाई भाग्यमानी भएझै महशूस भयो । त्यो पैसा ठ्याक्क पानीमा परेछ । नतिजा — अर्को पटक पनि त्यहाँ पुग्ने मौका जुर्नेछ भन्ने विश्वास । त्यही विश्वासका साथ गल्ली गल्ली चहारे ।

घुम्दाघुम्दै बाटामा एउटा रमाइला इटालियन फेला परे । उनलाई नेपालका बारे रामै्र जानकारी रहेछ । यतिसम्म कि नेपालको झण्डा दुई त्रिकोणले बनेको छ, बुद्ध नेपालमै जन्मिएका थिए र सगरमाथा नेपालमा पर्छ भन्नसम्म भ्याए उनले । केहि बेर सँगै रुमल्लिए पछि इटालियन पुलिस क्याराबिनिएरीका बारे ठट्टा गर्दै भने, “यी क्याराबिनिएरी यतिबिध्न बुद्धु हुन्छन् कि सुरुवाल उल्टो लगाउलान् भनेर एउटा पाटामा मात्र स्पष्ट देखिने धर्का जोडिएका हुन्छन् ।” नभन्दै भने जस्तै सुरुवाल लगाएको क्याराबिनिएरी देखियो र हामी दूवै मरीमरी हाँस्न थाल्यौ ।

******             ******                  ******                       ******

जम्मा दुई दिनको बसाइ अत्यन्त रमाइलो गरी बित्यो । त्यतिञ्जेल आफूलाई मरिहत्ते मनपर्ने पिज्जा त कति चट पारियो कति, भनेर साध्यै भएन । आखिर इटली न पर्यो , पिज्जाको देश । झन ग्ल्याडिएटरहरु लड्ने भव्य कोलोसियम अगाडि त ठेलागाडामै बेचिरहेको इटालियन रोटी खाइयो ।

अन्त्यमा एअरपोर्टका लागि मेट्रो समाउन रोम रेल्वे स्टेशन पुगेको मात्र के थिए, टिकट काट्न सघाइदिन्छु भन्दै एउटा बुढाबा मतिर आए । म चाहिं नाथे टिकट काट्न नि किन चाहियो सहयोग भनी भेन्डिङ्ग मशिनतर्फ लागे । मशिनहरु धेरै भए पनि कुनैमा पनि अंग्रेजी भाषा रहेनछ । कि त इटालियन, कि त फ्रेञ्च । आफूलाई दूवै नआउने । हारेर आखिर तिनै बुढाबासँग सघाईमागे ।

बुढा खुशी हुँदै मद्दत गर्न जोस्सिए । मसँग २५ यूरो लिई मशिनमा छिराए अनि के थिचे के, टिकट चाहिं निक्लेन । पैसामात्र निल्यो त्यो मशिनले । बुढा चाहि मशिनलाई धिक्कार्दै खत्र्याकखुत्रुक पार्न थाले । अन्त्यमा एउटा स्लीप निक्लियो, त्यसमा मशिनको गडबडीका लागि क्षमा मागिएको थियो र त्यस बापत स्टेशन या एअरपोर्ट जहाँ पनि रकम फिर्ता हुने उल्लेख गरिएको थियो ।

पर्यो  फसाद । पैसा फिर्ता लिन लाइन लागौ भने बडेमाको लाइन सकिञ्जेल ट्रेन छुट्ला भन्ने पीर, उता एअरपोर्टमा नि त्यस्तै भीड होला भन्ने चिन्ता । त्यतिकैमा ती बुढासँगै रहेकी बुढीआमैले त्यो स्लीपको साटो केही यूरो दिने प्रस्ताव गरिन् । हुन पनि कागजमात्र राख्नुभन्दा कौडीदाम लिनु उचित नै देखिन्थ्यो तर ती दूवै बुढाबुढी मिलेर उल्लू बनाएको प्रष्ट भो । अनि मात्र मेरा एक मित्रले इटली त यूरोपको बिहार हो भनेको सम्झे । हो रहेछ ।

अनि पैसाको माया मार्दै केही यूरो बढी तिरेर कमिशन एजेन्टको बाट टिकट काटे । ती दूवै बुढाबुढी चाहिं मलाई अन्त्यसम्म पछ्याउदै थिए, हरेकपल्ट एक एक एक यूरो बढाउँदै मसँग भएको स्लीप लिन चाहन्थे । तर म चाहिं फेरि पनि ठगिन चाहन्नथे ।

गह्रुँङ्गो मनका साथ मेट्रोमा चढे । ती बुढाबुढी चाहिं २० यूरोसम्म दिन राजी भए तर मनले मानेन । केही मिनेटको यात्रा पश्चात एअरपोर्ट पुगे । समयमै पुगेकोले रकम भुक्तानी पाउने ठाउँ सोधे । भाग्यवश त्यो काउन्टर नजिकै रहेछ र लाइन पनि रहेनछ । स्लीप दिनासाथ रकम फिर्ता पाए र साथमा मुस्कान पनि । मशिनका कारण दुःख भएकोमा खेद प्रकट गरिन ती महिलाले ।

प्लेनमा चढिसकेर पेटी कस्दै थिए, मेरा आँखा अगाडि एक वर्ष अघिकी दयालु बुढीआमा र केही मिनेट अघि ठग्न खोज्ने बुढाबुढी झल्झली आउन थाले । ती तिनैजना यूरोपेली भएपनि एउटी सभ्य र दयालु थिइन भने पछिल्लो पटक भेटिएका बुढाबुढी साह्रै नै ज्याद्रा र ठग थिए । शायद विवशताले होला ।            

No comments: