Saturday 6 July 2013

चिप्लेकिरा र चित्रगुप्त

(c) www.morguefile.com
हे मनुवा !
आफ्ना विजीगिषालाई लगाम दे
निमेष भरमा चन्द्र छुने
ती महत्वाकांक्षालाई तिलाञ्जली दे
कर्म गर
तर फलको आश नगर
सुस्त सुस्त आफ्नो लक्ष्यतर्फ बढ
अनि कदापि पछि नहट
आफ्नो मार्ग पहिल्याई
अनन्ततर्फ लम्कि
चिप्लेकिरा झै हताश नभई
आफ्नो गन्तव्यतर्फ ।

यी मधुर वाणीलाई
पछ्याउँदा पछ्याउँदै
एक जुग बितेछ
अनि चित्रगुप्तको वास्ता नगरी
चट्याङ्ग झै गर्जिनेहरु
चम्किरहेछन् ,
अनन्तता थपिरहेछन्
आफ्ना क्षणभंगुरतामा ।

ती फिरन्तेहरु
नीति संहारकहरु
व्यस्त छन्
लुट्न अस्मिता
अनि
न्यायद्वारको चिराबाट
किंकर्तव्यविमुढ भई
चियाउँदैछन् चित्रगुप्त ।

अब त विजीगिषा
जिजीविषामा परिणत भएझै लाग्दछ
अनि अन्तर्मन कहांलिदै
उच्चारण गर्दैछ
फगत गाँस, बास, कपास ।
तर,
हारेको छैन अझ विश्वास
सत्यको दिन त पक्कै फिर्लान नि
अनि मिहिनेतका ती डोबहरु
अवश्य देख्लान्
ती अदृश्य न्यायमूर्तिले
भन्दै,
निरन्तर अघि बढ्दैछ
यो चिप्लेकिरो ।

(८ जेष्ठ २०७०, सुर्खेत)

Published in www.nepalipost.com

No comments: