Sunday 8 September 2013

ऐना


(c) www.morguefile.com
ए ऐना,
मेरो कुन रुप देखाउँदैछस् आज ?
डक्टर जेकिल कि मिस्टर हाइड ?

मलाई अचेल साह्रै शंका लाग्ने गर्छ
तैले देखाउने प्रतिबिम्बमा,
दायाँलाई बायाँ
बायाँलाई दायाँ,
कहिले कन्केभ
कहिले कन्भेक्श ।
क्यालिब्रेशन पो नमिलेको हो कि ?
कि मेरो मति फेरिएको हो ?

नारसिसस् झै तलाउमा नियालेर हेरे
तेरो नियत पत्ता लगाउन,
त्यो त झन जाली रहेछ
तरंगमै गरायो मलाई धूमिल,
केहि नलागी सूर्यलाई गुहारे
आफूलाई चिन्न,
उसले त खालि छायाँ मात्र देखायो
आफू चाहिं हासिरह्यो ।
के म क्षणभंगूर भएको हो ?
कि म भित्रैदेखि रित्तिए ?

ब्यूटि लाइज इन द आइज अफ द बिहोल्डर
आँखा आँखाको हेराइ पनि त होला नि फरक,
आँखा पनि त होलान् नि
थोरै कन्केभ अनि थोरै कन्भेक्श,
अब म कस्कस्लाई सोधूं ?
म ठिक कि बेठिक ?

त्रिशंकु (२३ भाद्र २०७०, सुर्खेत)
 

No comments: