Wednesday, 18 November 2026

रोमको रोमाञ्च र भ्याटिकनको भौँतार्याइ

 सन् २०२५ को अक्टोबर मेरालागि अविस्मणीय रह्यो। भ्याटिकन सिटीको पोन्टिफिकल एकेडेमी अफ साइन्सेस र पोन्टिफिकल एकेडेमी अफ सोसल साइन्सेसले आयोजना गरेको कन्फरेन्समा आफ्नो प्रस्तुतीका लागि महिनाको अन्त्यमा त्यहाँ पुगेको थिए।

त्यहाँ विश्वभरिका नाम चलेका वैज्ञानिक, प्राज्ञ, तथा विज्ञमाझ मेरो हजुरबुवाले थारू परम्परागत चिकित्सा प्रणालीमार्फत समाज जोड्नमा दिनुभएको योगदान र उक्त प्रणालीलाई जीवन्त राखिराख्नका लागि प्रयाशरत् वैद्य र गुरुवाअगाडि जलवायु परिवर्तनले तेस्र्याएका चुनौती प्रस्तुत गरिरहँदा गर्व महसुस त भएको थियो नै झन आफ्नो हजुरबुवा उमेरका प्रोफेसरहरूले अगाडि आएर हौसला दिँदा झन मन फुरुङ्ग भएको थियो।    

सधैँजसो यात्रामा केही रमाइला र केही नसोचेका घटना त घटे तर ती मेरालागि र अन्य जो कोहीका लागि पनि भविष्यमा कामलाग्ने हुनसक्छन् भनेर सबैसँग आफ्ना अनुभव बाड्न चाहन्छु।    

A daytime view of Colosseum, Rome 4

दोन्दे एस्ता एल बान्यो?

रोमको पुग्नैपर्ने ऐतिहासिक गन्तव्य, कोलोसियम, जहाँ योद्धाहरू हिंस्रक जनावरसँग लड्दथे अनि शासकवर्ग, भाइभारदार र गण्यमान्य त्यसको मजा लिन्थे। त्यहाँ भीड नहुने दिन शायदै हुन्छ होला। संसारभरिका इतिहासप्रेमी र पर्यटक ओइरिने ठाउँमा भने मेरो कोलम्बियाली साथीलाई साह्रै अप्ठ्यारो पर्यो। 

कुरो के भने उसलाई ठ्याक्कै कोलोसियमकै अगाडि लघुशंकाले च्याप्यो। अब परेन त फसाद? अंग्रेजीको अ पनि नजान्ने होसे मानुएललाई त्यो कुरा भन्न पनि आकाशको तारा झारेझै भयो। साथीलाई हिड्न पनि गाह्रो भएको देखेपछि मैले खोतलखातल गर्दा पो उसले निन्याउरो मुख लाउँदै भन्यो, “दोन्दे एस्ता एल बान्यो?” मतलब “शौचालय कहाँ छ?”

अनि हामी दुई भाइ र हामीसँगै हिँडेकी नेचरअल्फा एआइकी सीइओ भियान धुइँधुइँती शौचालय खोज्न थाल्यौ। नजिकै कतै पनि सार्वजनिक शौचालय नपाएपछि हामी एउटा सपिङ्ग कम्प्लेक्समा छिर्यौ। धन्न त्यहाँ कुनामा महिला पुरुषको साइन रहेछ। 

होसे खुशी हुँदै दगुर्यो ट्वाइलेटतिर। तर त्यहाँ पुग्नासाथ लामो लाइन देखेर दिक्दार मान्दै अघि बढ्यो। लाइन भने चिप्लेकिराजस्तै शनैः शनैः सर्दै थियो।  

म र भियान अलिक परै एउटा जैतुनको रूखमुनि सुस्ताउँदै गफिन थाल्यौ। उता होसेले मलाई हात हल्लाई हल्लाई डाक्दै रहेछ। के भयो भनेर नजिक गएको त टिकेट लिएर पो लाइन बस्नु पर्ने रहेछ। परेन फसाद्?

म काउन्टरतिर दगुरिए तर त्यहाँ पनि लाइन रहेछ। खानेकुरा र शौचालयको टिकेट किन्नेको। तैपनि जम्मा तीन जना जति भएकोले म पनि उनीहरूपछाडि उभिए। तर म अघिको महिलाले पैसा तिर्न निकै अबेर गरेकीले बल्लतल्ल मेरो पालो आयो। फेरि टिकटको लागि ५ युरोको नोट दिएको त काउन्टरकी महिलाले खुल्ला देऊ भनिन्। धन्न भियान मलाई एक टकले हेरिरहेकि थिइन् र स्थिति बुझेर दगुर्दै त्यहाँ आई पुगिन्। उनीसँग १ युरोको ढ्याक रहेछ। टिकट लिएर म धुइँपत्ताल कुदे होसेतिर। 

होसे बल्ल होसमा आयो, बाथरूम छिरेर फर्किएपछि। 

Trevi Fountain aka Fontana di Trevi 3

ट्रेभी फाउन्टेन र १६ वर्षअगाडिको मनोकामना

त्योभन्दा केही पहिले हामी ट्रेभी फाउन्टेन पुगेका थियौं। यो भव्य फोहोरा हेर्न दैनिक हजारौं पर्यटक पुग्छन्। तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ त्यहाँको जनविश्वास हो। भन्छन् तपाईंले आफ्नो पिठ्यु फोहोरातर्फ फर्काएर दाहिने हातमा सिक्का लिई देब्रे काँघमाथिबाट पानीमा पर्ने गरी फाल्नुभयो भने तपाईं पक्कै पनि त्यहाँ कुनै न कुनै दिन फर्कनुहुनेछ। दोस्रो सिक्का फाल्नुभयो भने प्रेम पाउँनुहुनेछ र तेस्रो सिक्काले तपाईंको बिहे पक्का गर्नेछ। 

मेरो लागि चाहिँ पहिलो सिक्का फाल्नुको तात्पर्य सत्य साबति भयो। मैले डिसेम्बर २००९ मा त्यहाँ सिक्का फालेको थिए र सौभाग्यवश नोभेम्बर २०२५ मा फेरि त्यहीँ पुगे। 

तर किन हो किन यसपालि त्यहाँ सिक्का फाल्नै मन लागेन। 

Saint Peter's Square, Vatican City

भ्याटिकनबाहिर थुनिएको त्यो रात

भ्याटिकन सिटी भन्नासाथ इटलीभित्र रहेको सानो मुलुक भनेर सबैले चिन्छन् र त्यहाँभित्र रहेका म्युजियम अनि सेन्ट पिटर्स बासिलिका घुम्न मानिस ओइरिन्छन्। तर भ्याटिकन सिटीभित्रै पर्यटक बिरलै बस्छन्, केवल त्यहाँका लगभग ८०० जति स्थानीयबाहेक। म चाहिँ एउटा कन्फरेन्समा प्रस्तोताका रूपमा निम्त्याइएकोले सिटीभित्रै बसेको थिए। 

आफ्नो प्रस्तुति सकिइसकेकोले मेरो इटालियन साथीको निम्तोमा म सात बजेतिर भ्याटिकनबाट बाहिरिए। बाहिर निस्किन आँट्दा पहरामा रहेका स्वीस गार्डले केही भनेको जस्तो लाग्यो तर त्यति ध्यान चाहिँ दिइन। 

ह्यालोवीनको रात भएकोले रोमका गल्लीहरू भरिभराउ थिए। म गूगलम्यापको सहारा लिँदै साथीले भनेको रेँस्त्रामा समयमै पुगे। धेरै दिनमा भेट भएकोले टन्न गफ गर्यौ र मस्तसँग खायौँ। अनि फर्कने बेला चाहिँ घडी हेरेको त रातीको १० बजिसकेछ। केही पर्यो भने फोन गरौँला भनेर साथीसँग छुट्टीएर म आफ्नो बासतर्फ लागे गूगलम्याप पछ्याउँदै। 

एक त अँध्यारोे त्यसमा पनि खासै गाडी नगुड्ने बाटो हुँदै बाहिरिएको गेटमा पुग्दा मेरो हंसले काम गर्न छोड्यो। त्यो बडेमानको गेट त बन्द भइसकेको रहेछ। धन्न त्यहाँ स्वीस गार्डको एउटा टोली चाहिँ रहेछ। उनीहरूसँग बुझ्दा त त्यो गेट आठ बजे नै बन्द हुनेरहेछ भन्ने कुरा थाहा पाए। उनीहरूले नै अर्को गेटमा गएर बुझ्ने सल्लाह दिए। 

अनि म हतारहतार अर्को गेट खोज्नतर्फ लागे। बाहिर मौसम चिसै भए तापनि मचाहिँ पसिनाले निथु्रक्क भिजे। चकमन्न रातमा, एउटा अञ्जान शहरमा, म एक्लै कुद्दै थिए। सेन्ट पिटर्स बासिलिकाको मुख्य स्क्वायरमा पुग्दा अलिक राहत अनुभव गरे। केही पर्यटक अझ पनि त्यहाँ घुम्दै रहेछन्, केही घरवारविहिन चाहिँ टेन्ट लगाई निदाउनै आँटेका देखिन्थे। 

म ठुलो आशा लिएर गेटतर्फ दगुरे। तर त्यो गेट पनि बन्द रहेछ। मैले त्यहाँको स्थानीयजस्तै देखिने एक अधवैंशे पुरुषलाई आफ्नो व्यथा पोखे। उनले फेरि सेन्ट्री बस्ने ठाउँतिर गएर सोध्न भने। तर मैले कोही पनि फेला पार्न सकिन।

हारेर स्क्वायरमा पार्क गरिएको पुलिसको कारनेर गएर गफिइरहेका पुलिसलाई आफ्नो दुखेसो सुनाए। उनीमध्ये एकले गेटनेर रहेको साइनबोर्डतर्फ इशारा गर्दै त्यहाँ गएर स्वीस गार्डलाई खोज्न भने। 

म फेरि कुदेर त्यहीँ ठाउँ पुगे तर मानिसको अत्तोपत्तो थिएन त्यहाँ। तर त्यहाँ स्क्यानिङ्ग मशिन थियो जहाँ दिउँसो म्युजियम पस्नुअघि आगन्तुकहरूको जाँच गरिन्थ्यो। त्यससँगै एउटा सीसीटिभीको क्यामेरा देखेर त्यसतर्फ हात हल्लाउँदै हेल्प हेल्प भनी चिच्याए। तर केही लागेन। कोही आएनन्। 

त्यसपछि मैले रोम फर्केर कुनै होटलमा कोठा लिने निर्णय गरे। त्यही बेला मैले अगाडि मद्दत मागेको अधवैंशे र उनकी पार्टनर देखिए। उनले मलाई चिनिहाले र हात हल्लाउँदै बोलाए। उनले मलाई गार्डपोष्टतर्फ औंल्याउँदै त्यहीँभित्र एकजना रहेको बताए। 

अनि के चाहियो र। म कुदेर एक मिनेटमै त्यहाँ पुगे र उनले भनेझैं साच्चिकै त्यहाँभित्रनेर एउटा पोष्ट रहेछ र त्यहाँ एउटा उँघ्दै गरेको गार्ड। बल्ल मेरो जीउमा ज्यान आएजस्तो भयो। मैले आफ्नो निवासको चाबी देखाउँदै म कासा सान्ता मार्ताको पाहुना भएको कुरा बताए। उनले त्यो चाबी देख्नासाथ मलाई नअत्तालिन भने र ढोका खोलेर भित्र प्रवेश गराए। म त्यो कोठा हुँदै भ्याटिकन छिरे र आफ्नो निवासतर्फ लागे। कोठा पुग्दा मध्यरात भइसकेको थियो। भोलि बिहानै एअरपोर्टको लागि निस्कनु पर्ने थियो। बल्ल ढुक्क भएर सबै कुरा प्याक गरे र भाग्यलाई धन्यवाद दिँदै ओछ्यानमा पल्टिए । 

No comments: